धरान : आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिज सुनसरी जिल्ला समितिको अधिवेशनका लागि वरिष्ठ पत्रकार महेश श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय अधिवेशन आयोजक समिति गठन भएको छ ।

नेपाल पत्रकार महासङ्घ सुनसरीको धरान-१३ स्थित कार्यालयमा सोमवार फोनिज प्रदेश नं. १ अध्यक्ष सन्तवीर लामाको उपस्थितिमा भएको फोनिजकर्मी, अग्रज पत्रकारहरूको भेलाले उक्त निर्णय गरेको हो ।

झुम्कामा ३ वर्ष अघि भएको अधिवेशनले गठन गरेको जिल्ला कार्यसमितिमा उत्पन्न विवाद अहिले सम्म नसुल्झिएकाले उक्त कार्यसमितिबाट जिल्ला अधिवेशन गर्न सम्भावना नभएकोले प्रदेश समितिले हस्तक्षेप गर्दै आयोजक समिति गठन गर्ने प्रस्ताव भेलामा प्रदेश अध्यक्ष लामाले राखेका थिए ।

उक्त प्रस्तावमा जिल्ला अध्यक्ष नवीन गुरुङले सहमति जनाएकाले आयोजक समिति बनाएर नयाँ जिल्ला कार्यसमिति गठन प्रक्रिया अघि बढाउने निर्णय भएको हो । फोनिज केन्द्रीय समितिले जिल्ला फोनिजको अधिवेशन पुष २७ गते गर्ने परिपत्र जारी गरेको छ ।

सोही अनुसार सुनसरी जिल्ला अधिवेशन पुष २७ भित्र सम्पन्न गरिने संयोजक महेश श्रेष्ठले बताए । अधिवेशन पत्रकार महासङ्घ सुनसरीको भवन धरानमा सम्पन्न गर्ने सहमति पनि भएको छ ।