इटहरी : इटहरीमा जारी नेपाल जेसीजको महाधिवेशनमा आज मतदान हुँदैछ । सोमबार साँझ हुने मतदानबाट नयाँ नेतृत्व चयन हुने भएको छ । निर्वाचन मार्फत अध्यक्ष, कार्यकारिणी उपाध्यक्ष, उपाध्यक्ष लगायत पदाधिकारी तथा सदस्य चयन हुँदैछन् ।

अध्यक्षका ६ जना प्रत्याशी मध्ये ककसमा सहभागी भएका दुई जना उम्मेदवार बिच प्रतिस्पर्धा हुने भएको छ । रामेछापका जीवन कार्की र मनोहरा जेसीजबाट रजनी थापा चुनावी प्रतिस्पर्धामा होमिएका छन् । थापा यसअघि बुटवल महाधिवेशनमा अध्यक्षमा पराजित हुन् भने कार्की नयाँ उम्मेदवार हुन् ।

थापा २०७४ मा मनोहरा नगरपालिकाको उपमेयर र २०७९ मा मेयरमा पराजित भइसकेकी छिन् । यस पटक निर्वाचनमा विजयी हुनेगरी उनले तयारी गरेकी छिन् । नेपाली काँग्रेसका अग्रज नेतृत्वले समेत थापालाई समर्थन गरिरहेका छन् ।

उता कार्की पनि बलियो प्रतिस्पर्धीको उपमा उदाएका छन् । चुनावी प्रतिस्पर्धामा निक्कै आत्मविश्वासी देखिएका उनले जेसीजका मतदाता बिच आन्तरिक लबिङ गरिरहेका छन् । नेपाली काँग्रेसकै नेता रहेका कार्कीले गोप्यरुपमा चुनावी अभियान अगाडी बढाएका छन् । बाहिरी रूपमा थापाको सम्भावना बलियो देखिए पनि कार्कीको आन्तरिक तयारीले चुनावी नतिजाको आकलन गर्न समस्या भएको छ ।

कार्कीले जेसीजको आम्दानी बढाउने, युवा उद्यमशीलता प्रवर्द्धन गर्ने बाचा गरेका छन् । ककसमा बोल्दै उनले जेसीजलाई पारदर्शी र जिम्मेवार संस्थाको रूपमा विकास गर्ने योजना अगाडी सारेका छन् ।

थापाले भने महिलाको नेतृत्व जरुरी रहेको र आफ्नै दिदीबहिनी, आमा वा छोरीलाई सम्झिएर मतदान गर्न आग्रह गरिन् । निक्कै भावुक रूपमा प्रस्तुत भएकी उनले यसअघिको पराजयलाई ढाडस दिने गरी न्याय गर्न मतदातालाई उनले अनुरोध गरेकी छिन् ।

अध्यक्षको लागि १५ सय बढी प्रतिनिधिले मतदान गर्ने भएका छन् । विद्युतीय मतदान हुने भएकाले आज राती नै नतिजा प्रकाशित गर्ने निर्वाचन समितिको तयारी छ ।

Nepal JCI 1