झापा : पछिल्लो समय जङ्गली हात्ती मानव बस्ती तर्फ केन्द्रित हुन थालेका छन् । झापाका उत्तरी वन क्षेत्रमा रहेका हात्तीहरू आजभोलि बस्तीमा पस्न थालेपछि झापाको शिवसताक्षी नगरपालिका, कमल गाउँपालिका र दमक नगरपालिकाका उत्तरी भेगका स्थानीयहरू चिन्तित र त्रसित बनेका छन् ।
केही सातायता निरन्तर जसो झापाको शिवसताक्षीमा जङ्गली हात्ती देखा पर्न थालेका छन् । शिवसताक्षीस्थित झिलझिलेमा रहेको बाक्लो बजार र बस्तीमा जङ्गली हात्ती देखापर्न थालेपछि स्थानीयहरू रातभर हात्ती धपाउन जाग्राम बस्ने गरेका छन् । कतिबेला के हुने हो पत्तो हुन्न भन्दै स्थानीयहरू आलोपालो गरेर गाउँलाई पहरा दिन थालेको शिवसताक्षीस्थित झिलझिलेका स्थानीय पत्रकार बिनोद सापकोटा बताउँछन् ।
सोही पालिकासँग जोडिएको कमल गाउँपालिकामा पनि हात्तीको त्रास उस्तै छ । स्थानीय पत्रकार उमानाथ भण्डारीका अनुसार कमल गाउँपालिकाको खास गरि सितापुरी र पाँडाजुङी क्षेत्रमा केही सातायता जङ्गली हात्ती देखापरिरहेका छन् । सो क्षेत्रका स्थानीयहरू पनि रातभर आगो बालेर हात्ती रुङ्न बाध्य छन् ।
कमल गाउँपालिकाको सितापुरी आसपासको क्षेत्रमा देखिएका हात्तीलाई बस्तीमा पस्नबाट रोक्न स्थानीयले रतुवामाई वृक्षारोपण क्षेत्रमा डढेलो लगाइदिएका छन् । हात्ती दिनहुँ जसो आउन थालेपछि सुरक्षित हुनका लागि डढेलो लगाएको भएपनि हात्ती आउन नछाडेको स्थानीयहरू सुनाउँछन् ।
कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी हात्ती प्रभावित आफ्नो पालिकाका केही क्षेत्रहरूमा रातको समयमा हात्ती आएको सहजै देख्न सकियोस र सावधानी अपनाउन सकियोस भनेर सडकमा बिजुली बत्तीको व्यवस्थापन गरिएको बताउँछिन् ।
झापामा रतुवामाई वृक्षारोपण आयोजना, हम्सेदुम्से सामुदायिक वन लगायतका क्षेत्रहरूमा नियमित रूपमा हात्ती देखिँदै आएका छन् । दिनभर जङ्गलमा रहने हात्तीहरू साँझ तथा बेलुका बस्तीमा छिर्न थालेपछि हात्ती प्रभावित क्षेत्रका बासिन्दाहरू आगोको मुस्लो लिएर हात्ती धपाउन निस्कने गर्छन् ।
झापामा मात्रै नभएर जङ्गली हात्तीले झापासँगै जोडिएको ईलामको चुलाचुली गाउँपालिका ५ मा पनि दु:ख दिने गरेको छ । इलामको चुलाचुली गाउँपालिका वडा नम्बर ५ शिखरकटेरीमा जङ्गली हात्ती गाउँ पसेर दुःख दिन थालेपछि स्थानीयहरुले हात्ती खेदाउनका लागि रातको समयमा पहरा दिने गरेका छन् ।
झापा दमक स्थित हंसेदुम्से सामुदायिक वनमा दिनभरि बस्ने र रात परेपछि आहाराको खोजीमा हात्ती गाउँ पस्ने भएकाले स्थानीयहरू दैनिक साँझ परे पछि राती ११-१२ बजे सम्म मुख्य मुख्य गौडाहरूमा आगो बालेर पहरा दिने गरिरहेका छन् ।