धरान : धरान-१५ बगरकोट छेउ एभरेष्ट लाइनमा 'धरान म्युजिक जात्रा' नामक सांस्कृतिक महोत्सव आयोजनास्थलका स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूले विरोध गरेका छन् । आयोजक पक्षले भने विरोधका बाबजुद आज आइतबार मेला उद्घाटन गर्ने तयारी गरेको छ ।
धरान उपमहानगरपालिका वडा-१५ की वडा सदस्य सामाजिक विकास समिति सदस्य, महिला बालबालिका संयोजक सृजना नेपालले मेला आयोजक र वडा अध्यक्ष नरेश ईवरामले वडामा भएको विषयवस्तुको जानकारी नदिई मेला लगाएको बताइन् ।
उनले भनिन् ‘मेला मात्र होइन वडाको कुनै पनि विषयमा जानकारी समेत नदिएकोमा मेरो आपत्ति छ ।’ वडा सदस्यलाई मेलामा महिला हिंसा, बाल हिंसा भए त्यसमा वडा जबाफदेही हुनुपर्छ ।’ यस्तो विषय वडा अध्यक्ष एक्लैले निर्णय गर्न नमिल्ने उनको भनाई छ ।
मेलाको लक्ष्य उद्देश्य बारे सरोकारवालालाई चित्त नबुझाई नाफामुखी संस्थालाई मन पर्यो भन्दैमा स्थानीय सरकारले अनुमति दिन नहुने उनले बताइन् । उनका अनुसार जिल्ला प्रशासन कार्यालयले सांस्कृतिक कार्यक्रम मात्र सञ्चालन गर्न अनुमति दिए पनि मेलामा खेल तमासा जुवा र मदिरा जन्य पदार्थको बिक्री वितरणका स्टल राखिएको छ ।
धरान उपमहानगरपालिकाले मेला लगाउन सहमति दिएको जनाउँदै जिल्ला प्रशासनमा मङ्सिर ७ गते मेला लगाउन पत्राचार गरेको थियो । धरान उपमहानगरपालिको सिफारिसमा जिल्ला प्रहरी कार्यालय सुनसरीले १८ बुँदे सर्त राखेको छ ।
ती सर्तहरूमा जुवा जन्य कुनै पनि खेल (डाइस तथा डाईसजन्य ,तिर, रेस घिर्नी रेस, हाउजी, पैसाराखि खेल्ने कुनै पनि जुवा जन्य खेलहरू खेल्न नपाउने तोकिएको छ । मदिराजन्य चिज बस्तु बिक्री वितरण गर्न तथा सेवन गर्न निषेध गरिएको छ ।
सामाजिक विकृति पैदा हुने खालका र कानुनले निषेध गरेका कार्यक्रमहरू सञ्चालन नगर्ने नगराउने, सांस्कृतिक कार्यक्रममा भद्र पोशाक लगाउने व्यवस्था गर्ने जस्ता सर्त राखिएको छ । तर सर्त विपरीत मेलामा मदिरा सहितको स्टल र खेल तमासाका कार्यक्रमहरू हुने तयारी गरिएको बताइएको छ ।
एभरेष्ट लाइन टिएलोको आपत्ति
धरान-१५ बगरकोट छेउ नजिक एभरेष्ट लाइनका स्थानीय बासिन्दा र एभरेष्ट लाइन टोल विकास समितिले पनि मेला लगाएको प्रति आपत्ति जनाएको छ । टोल विकास समितिका अध्यक्ष शुक्रबहादुर विश्वकर्माले मेलाको विषयमा छलफल बैठक चलिरहेको बताए ।
उनले भने ‘मेला लगाउने तयारी हुँदा सम्म एभरेष्ट लाइन टिएलोको सहमति लिएको छैन, जानकारी समेत दिएको छै ।’ अध्यक्ष विश्वकर्माले जानकारी बिना र स्थानीय बासिन्दाको सहमति बिना लगाएको मेलाले कुनै अप्रिय घटना घटे मेला आयोजक जिम्मेवार हुनुपर्ने बताए ।
स्थानीय डेबिट थेगिम सुब्बाले एभरेष्ट टिएलओ र स्थानीय बासिन्दा मेलाको विषयमा छलफल बसिरहेको बताए । सुब्बाले टिएलओले मेलामा कुनै सहयोग नगर्ने र कुनै पनि कार्यक्रममा सहभागिता नजनाउने र कुनै घटना घटेमा मेला आयोजक स्वयम जिम्मेवार हुनु पर्ने बताए ।
उनले भने ‘स्थानीय बासिन्दाको स्वीकृति बिना ११ दिन सम्म सञ्चालन हुने लागेकोमा घोर आपत्ति छ ।’ मेलामा हुने होहल्लाले बिरामी र केटाकेटी सुत्केरीहरूलाई असर पर्ने उनको भनाई छ । मेलाको विषयमा स्थानीय सरकार धरान उपमहानगरपालिका र जिल्ला प्रशासन सम्म डेलिकेशन जाने उनले बताए ।