धरान : धरान उपमहानगरपालिकाले यसपालि पनि ‘धरान डे’ आयोजना गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । २०१७ सालमा धरान नगरपालिका घोषणा भएको ६४ वर्ष भए पनि धरान मानव बसोबास सुरु भएको १२४ औँ वर्ष भएको छ ।
यो सूचक २०५७ सालमा तत्कालीन नगर प्रमुख मनोजकुमार मेयाङबोको कार्यकालमा धरानमा बस्ती विकास सुरु भएको १ सय वर्ष पुरा भएको इतिहास सार्वजनिक गर्दै पहिलो पटक धरान ‘शतवार्षिक महोत्सव आयोजना’ गरिएपछि स्थापित भएको हो ।शतवार्षिक मनाउनुको तात्पर्य सय वर्ष अघि धरान कस्तो थियो, अहिले कुन अवस्थामा छ र अबका दिनमा धरानको मार्गचित्र के हो ? भन्ने कुरा धरानवासीलाई स्पष्ट सन्देश दिने उद्देश्य थियो । त्यस बेला सार्वजनिक गरिएका ५० वर्षे धरानको समग्र विकासको अवधारणाले त्यसलाई स्पष्ट गरेको थियो ।
धरानको विकास सम्बन्धी गोष्ठीले धरान ५० वर्षपछि शिक्षा, स्वास्थ्य, पर्यटन र सांस्कृतिक पूर्वाधार युक्त सहरको रूपमा विकाश भएको हुने मार्गचित्र निर्धारण गरेको हो । त्यसपछि वार्षिक रूपमा हुँदै आएका धरान उत्सव तथा ‘धरान डे’ले त्यसलाई पूनःस्मरण गराउँदै आएको थियो । त्यो अवधारणा २४ वर्षको भएको छ ।
यो २४ वर्षको अवधिमा अहिले कहाँ पुग्यो त्यो ५० वर्षे धरानको समृद्धिको अवधारणा ? धरान उपमहानगरपालिका त्यो बाटोमा हिँडेको छ कि छैन ? बजेट कार्यक्रम र नीति निर्माणले त्यो लक्ष्यलाई पछ्याएको छ छैन ? धरानको विकास सम्बन्धी अधिगोष्ठीले निर्धारण गरेको त्यो ‘भिजन’ धराने जनताको भनिएको थियो । मेयर उपमेयरको भनिएको थिएन ।
शतवार्षिकी पछिका समय दुई दशक सम्म नगरपालिका जनप्रतिनिधि विहीन अवस्थामा रहेपछि ती कुराहरू हराए । त्यसअघि द्वन्दकालमा धरान उत्सवले निरन्तरता पाउन सकेन । निरन्तरता टुटेपछि जनप्रतिनिधि विहीन अवस्थामा २०६७ सालमा एक पटक धरान उत्सवको आयोजना गरिएको थियो ।
नगर प्रमुख तारा सुब्बाको कार्यकाल एक वर्षको मात्र रह्यो । उनको निधनपछि उपनिर्वाचनबाट आएका प्रमुख तिलक राईले कोरोना महामारीसँग सामना गर्दै धरान उत्सवलाई निरन्तरता दिने प्रयास गरे । प्रधानमन्त्री नै ल्याएर धरान उत्सवको उद्घाटन गराए । धरानको इतिहास र विकाश क्रममा अहिले धरान जस्तो छ, त्यस्तै देखाउने अवसरको रूपमा धरान उत्सवलाई प्रस्तुत गरे ।
पछिल्लो समय चालु आर्थिक वर्ष २०८१/०८२ सम्म नगर प्रमुख हर्क साम्पाङको कालखण्ड सम्म आइपुग्दा त्यो अवधारणा ‘मेयरको भिजन’ र ‘उपमेयरको भिजन’मा परिवर्तित भएको छ । चालु आर्थिक वर्षको बजेटमा धरान उपमहानगरपालिका कार्यपालिकाले प्रस्तुत गरेको र नगर सभाले पारित गरेको बजेटले त्यसको पुष्टि गर्दछ ।
जनताले निर्वाचित गरेको जनप्रतिनिधिको निर्णय नगर प्रमुख, उपप्रमुखको ‘भिजन’मा नै उपमहानगरको विकास र समृद्धिको भविष्य निर्भर रहन्छ । त्यस अर्थमा शतवार्षिकबाट सुरु भएको धरानको विकाशको ५० वर्षे अवधारणा २४ औँ वर्षमा आइपुग्दा नगर प्रमुख र उपप्रमुख केन्द्रित भएको देखिन्छ ।
धरान उपमहानगरपालिकाको नीति, कार्यक्रममा आएको परिवर्तनको सन्दर्भमा यसपालि मनाउन लागिएको धरान उत्सव तथा ‘धरान डे’ मेयर र उपमेयरको ‘भिजन’को औचित्य पुष्टि र व्याख्या गर्ने अवसरको रूपमा महत्त्वपूर्ण मानिनु पर्दछ । प्रमुख, उपप्रमुखले २४ वर्ष अघि घोषित भिजनलाई विस्थापित गर्दै आएको नयाँ भिजन बारे धरानवासीलाई स्पष्ट गर्ने अवसर बनाउनु पर्दछ ।
‘धरान उत्सव’लाई मेला, महोत्सव, कन्सर्टको रूपमा मात्र केन्द्रित गरिनु हुन्न । धरान बहुसांस्कृतिक, बहुधार्मिक र आधुनिक शहर पनि हो । अघिल्ला केही समय ठप्प रहेका सांस्कृतिक प्रस्तुति, मनोरञ्जन र व्यापारिक उद्देश्यका मेला महोत्सव पछिल्लो समय धरानमा बढेको छ ।
‘धरान डे’ को उद्देश्य त्यस भन्दा फरक बन्न सक्यो भने यसको महत्त्व रहन्छ । धरान उपमहानगरपालिकाले आयोजना गर्ने उत्सव वास्तवलाई स्थानीय सरकारको नीति, कार्यक्रम र आगामी रोडम्यापका बारे जनतासँग अन्तरक्रिया गर्ने उपक्रमको रुप दिइनु मुनासिब हुन्छ । यसो गर्दा धरानवासीलाई हिजोका नीति, अवधारणा र आजका नीति र कार्यशैलीको समीक्षा गर्ने अवसर मिल्छ ।