धरान : सुनसरी उद्योग वाणिज्य सङ्घको आयोजनामा पुस २५ देखि माघ ५ गते सम्म तेस्रो पटक धरान एक्स्पो आयोजना हुने भएको छ । एक्स्पो आयोजनाले १ सय वर्ष पुरानो इतिहास बोकेको व्यापारिक विरासत ब्युँताउने आशा गरिएको छ ।

एक्स्पोले धरानको स्थानीय उत्पादन, व्यापार ,व्यवसाय र उपभोक्ता बजारमा नयाँ चहलपहल आउने विश्वास लिएको आज आइतबार आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष विजय श्रेष्ठले बताए ।

एक्स्पोमा यसपालि वर्ष करिब १० करोड बराबरको हाराहारीमा कारोबार हुने अनुमान गरिएको छ । श्रेष्ठका अनुसार अघिल्लो वर्ष एक्स्पोमा ५ करोडको व्यापार भएको थियो ।

उनले सडक संरचनाका कारण धरान बाहिर भएको व्यापारीकरण ले धरानमा व्यापार मन्दी रहेका बेला एक्स्पोले आर्थिक चहलपहल बढाउने बताए । धरान एक्स्पोले धरानको व्यापारी, व्यवसायी, स्थानीय उद्यमीमा नयाँ उत्साह र उपभोक्ता बजारमा चहल पहल ल्याउने उनको दाबी छ ।

एक्स्पो धरान-१६ स्थित धरान रङ्गशाला परिसरमा हुने भएको छ । एक्स्पोमा कोशी प्रदेशका १४ जिल्लाका व्यापारी व्यवसायी आउने छन् । करिब २० हजार मानिसले अवलोकन गर्ने छन् । एक्स्पोमा १४२ वटा स्टल रहनेछ ।

धरानभरीका स्थानीय उत्पादनका बस्तु बिक्री वितरण, बजार विस्तार र उपभोक्तालाई चिनाउने उद्देश्य लिइएको अध्यक्ष श्रेष्ठले बताए । एक्स्पोमा स्थानीय उत्पादनसँगै धनकुटा, इलाम, तेह्रथुम लगायतका पहाडी जिल्लाका उत्पादनहरूलाई समेत प्राथमिकता दिएर बिक्री वितरणका लागि राखिने भएको छ ।

सबै वस्तुहरू एक्स्पोमा प्रदर्शनीमा राखिने विक्री वितरण र कारोबार हुनेछ । धरानको आर्थिक गतिविधि चलायमान बनाउन, कोशी प्रदेशका उपभोक्ताहरूलाई स्थानीय देखि अन्तर्राष्ट्रिय बजारका उत्पादन सहज र सुपथ मूल्यमा एक्स्पोले उपलब्ध गराउने बताइएको छ।

उद्योग वाणिज्य महासङ्घ, सङ्घीय सरकारका निकायहरू, कोशी प्रदेश सरकार र धरान उपमहानगरपालिकाको सहयोगमा धरान एक्स्पो आयोजना हुन लागेको हो । उनले एक्स्पोको लागी आवश्यक संरचना तयारी तीव्र भइरहेको जानकारी दिए ।

एक्स्पोमा हरेक साँझ मनोरञ्जनात्मक साङ्गतिक कार्यक्रम, सांस्कृतिक प्रतियोगिता आयोजना हुनेछ । हरेक दिन नेपालका चर्चित कलाकारहरूको कन्सर्ट आयोजना गरिने छ ।