धरान : साङ्गीतिक उत्सव 'धरान म्युजिक जात्रा' आयोजना गर्न जिल्ला प्रशासन कार्यालयले स्वीकृति दिँदा बन्देज गरेका १७ बुँदे सर्त विपरीत गरिएको पाइएमा कारबाही गरिने सहायक प्रजिअ लोकमान श्रेष्ठले बताएका छन् ।

उनले भने ‘यदि नियम विपरीत कार्यहरू भई मेला सञ्चालन भएको पाइएमा तत्काल मेला आयोजकलाई कारबाही र मेला बन्द गर्छौ ।’ सर्त अनुसार मेला आयोजना गर्न मात्र अनुमति दिइएको, अनुमति विना कार्य भए तत्काल कारबाही हुने उनले बताए ।

धरान-१५ बगरकोट छेउ एभरेष्ट लाइनमा 'धरान म्युजिक जात्रा' नामक सांस्कृतिक महोत्सवका दर्जन स्टलहरूमा मदिराजन्य पेय पदार्थ विक्री वितरण भइरहेको जनगुनासोको बारेमा सहायक प्रजिअ श्रेष्ठले उक्त प्रतिक्रिया दिएका हुन ।

महोत्सव हिजो आइतबार देखी सुरु भएको हो । मेलामा घुमघाम गर्नेहरूले यसअघि धरानमा रोक लगाइएको खेल तमासाहरू सञ्चालन भइरहेको बताएका छन् । स्टलहरूमा मदिराजन्य पेय पदार्थ विक्री वितरण भइरहेको उनीहरूको भनाई छ ।

जिल्ला प्रशासनले सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न अनुमति दिएकोमा खेल तमासा जुवाजन्य खेल र मदिरा जन्य पदार्थको स्टल राखिएको मेला घुमेकाहरूले बताएका छन् ।

धरान उपमहानगरपालिको सिफारिसमा जिल्ला प्रहरी कार्यालय सुनसरीले १८ बुँदे सर्त राखेको छ । सर्तहरूमा जुवाजन्य कुनै पनि खेल डाइस तथा डाइसजन्य खेल सञ्चालन गर्न पाउने छैन ।

तिर निशान, रेस घिर्नी रेस, हाउजी, पैसा राखेर खेल्ने कुनै पनि जुवाजन्य खेलहरू सञ्चालन गर्न नपाउने तोकिएको छ । मदिराजन्य चिज बस्तु बिक्री वितरण गर्न तथा सेवन गर्न निषेध गरिएको छ ।

सामाजिक विकृति पैदा हुने खालका र कानुनले निषेध गरेका कार्यक्रमहरू सञ्चालन नगर्ने नगराउने सर्त पनि छ । सांस्कृतिक कार्यक्रममा भद्र पोसाक लगाउने जस्ता सर्त पनि छ । ती सर्तहरूको पालना भने महोत्सव आयोजकले नगरेको स्थानीयले बताएका छन् ।

यसअघि स्थानीयवासी र एभरेष्ट लाईन टिएलओले मेला महोत्सव लगाउनु अघि कुनै समन्वय नगरेकोले विरोध गरेको स्थानीय डेबिट थेगिम सुब्बाले बताए । उनले भने ‘हामी स्थानीय सँग समन्वय भएन, स्थानीयवासी र एभरेष्ट टिएलओले मेलाको विरोध गर्दै आएको छ ।’

मेलामा कुनै अप्रिय घटना भए साक्षी बस्न मुचुल्का उठाउन स्थानीयवासी खोजिन्छ । त्यो झमेलामा पर्ने कोही पनि नचाहेको बताउँदै उनले स्थानीयको गुनासो लिएर जिल्ला प्रशासनमा डेलिगेसन जानै तयारी भइरहेको बताए ।

CDO-music-jatra-letter