सुनसरी : नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका तीन सय १४ जना सञ्चारकर्मीको निःशुल्क दुर्घटना बिमा गरेको छ ।
अजोड इन्स्योरेन्स काठमाडौँ सँगको सम्झौता अनुसार युनियन सुनसरीले जिल्लाका तीन सय १४ जना सञ्चारकर्मीको बुधवार निःशुल्क दुर्घटना बिमा गरेको हो ।
गत पुस २८ गते नेपाल प्रेस युनियन सुनसरी र अजोड इन्स्योरेन्स बिच भएको सम्झौता अनुसार सुनसरीका २ सय ६० सञ्चारकर्मीको ७ लाखको दुर्घटना बिमा गर्ने उल्लेख थियो ।
बिमा व्यवस्थापन समितिका संयोजक तथा युनियनका पूर्व केन्द्रीय सदस्य दिवस पोखरेलका अनुसार आफूहरूलाई डकुमेन्ट प्राप्त भएको आधारमा बिमा गरिएको हो । ‘हामीलाई प्राप्त भएको सिफारिस र अन्य विवरणको आधारमा बिमा गरिएको हो,’ उनले भने, ‘करिब चार सयको विवरण आएको थियो, तर केही नामहरूको डकुमेन्ट नपुगेकाले हामीले उनीहरूको बिमा गर्न सकेनौँ ।’ उनले जिल्लाका सबै सञ्चारमाध्यममा आबद्ध सञ्चारकर्मीहरू समेटिएको बताए ।
प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले यसअघि युनियनले कोरोना बिमा पनि गरेको र अहिले दुर्घटना बिमा गरेको बताए ।
सम्झौता २ सय ६० जना सञ्चारकर्मीको बिमा गर्ने भए पनि कागजात माग गर्दा धेरै सङ्ख्यामा सञ्चारकर्मीहरुले आवेदन गरे पनि ३ सय १४ जनाको मात्रै बिमा गरिएको अध्यक्ष अधिकारीले बताए । सम्झौता भन्दा माथि गरिएका बिमित सञ्चारकर्मीहरुले पैसा भने प्रेस युनियन सुनसरीले तिरेको अधिकारीले बताए ।
‘हामीले यसअघि कोरोना बिमा गरिएको दुई सय ६० पत्रकारमध्ये ३२ जनालाई कोरोना लागेको थियो,’ उनले भने, ‘ती मध्य २२ जनाको एक लाखका दरले रकम आइसकेको छ ।’
उनका अनुसार दुर्घटना बिमा गरेका सञ्चारकर्मीको दुर्घटना भएर मृत्यु भएमा परिवारले सात लाख रुपैयाँ हात पार्नेछन् भने घाइते भएमा उपचार खर्च बापत ७० हजार रुपैयाँ सम्म रकम पाउनेछन् । यसअघि युनियनले विराटनगरको नोबेल अस्पतालसँग पत्रकारको उपचार खर्चमा लाग्ने पचास प्रतिशत छुटका लागि सम्झौता समेत गरेको उनले बताए ।
प्रेस युनियनका केन्द्रीय महासचिव अजयबाबु सिवाकोटीले दुर्घटना बिमाले पत्रकारिताप्रतिको आकर्षण बढाउने बताए । उनले भने, ‘महासङ्घले सबै अटाउन नसकिरहेको अवस्थामा युनियनले जिल्लाकै तीन सयको बिमा गरिनुले पत्रकारिताप्रतिको आकर्षण बढाउँछ ।’ उनले उक्त कामले सञ्चार क्षेत्रमा आबद्ध मानिसहरूमा सकारात्मक प्रभाव पर्ने बताए ।
प्रदेश १ का अध्यक्षहरूको पनि बिमा
युनियनका प्रदेश १ भरीका अध्यक्षहरूको पनि बिमा गरिएको छ । सुनसरी अध्यक्ष अधिकारी सहित प्रदेश १ का १४ जिल्लाका अध्यक्षहरूको बिमा पनि गरिएको हो व्यवस्थापन समिति संयोजक पोखरेलले बताए ।