इटहरी : तरकारीको पकेट क्षेत्रको रूपमा रहेको धनकुटाको छथरजोरपाटी गाउँपालिकाका किसान टाउकोमा हात राखेर बसेका छन् । बैङ्कबाट ऋण लिएर तरकारी खेती गरेका उनीहरू ब्याज कसरी तिर्ने भन्ने चिन्तामा छन् ।
लकडाउनको कारण उत्पादित बस्तु बजारसम्म पुर्याउन नपाएकोले नोक्सान भएको छ । अघिल्लो वर्ष १७ लाख आम्दानी गरेका स्थानीय गणेश शाक्य उनी यस पटक घाटा हुने भएकोले चिन्तामा छन् ।
‘हामीलाई त के गरौँ न कसो गरौँ भएको छ’ शाक्यले भने ‘सिङ्गो खेतमा तरकारी छ, बेच्न नपाउँदा एक पैसो आउन पाएन।’ उनको बारीमा किवी, मटर कोसा र अन्य सिजनल तरकारी त्यत्तिकै छन् ।
शाक्यको जस्तै समस्या सिँधुवाका किसान डिक बहादुर खड्काको पनि छ । तयारी मटर कोसा बेच्न नपाउँदा गाईलाई खुवाउनु परेको उनी सुनाउँछन् । बैङ्कसँग ऋण गरेर व्यवसायीक खेती गरिरहेका खड्कालाई कसरी परिवार चलाउने धौधौ परिरहेको छ ।
बेच्न ठिक्क पारेको तरकारी उपभोक्तासम्म पुर्याउन नपाएपछि उनीहरू समस्यामा परेका हुन् । कृषि पेसालाई मुख्य आम्दानीको स्रोत बनाएका उनीहरू यस पटक ठुलो क्षति भएको बताउँछन् ।
भारत सहित तेस्रो मुलुक तरकारी निर्यात गर्ने धनकुटाका किसानलाई करोडौँको नोक्सानी भएको छ । तरकारी बारीमै कुहिएको छ भने अर्को सिजन तरकारी लगाउने बेला आइसक्दा समेत के गर्ने भन्ने अन्योलमा छन् ।
व्यवसायीक ढङ्गले खेती किसानी गरेका सर्वसाधारणको मुख्य आम्दानी नै पशुपालन र तरकारी हो । बजार पठाउन तयार पारिएका हरियो मटर कोसा, काउली, रायाको साग लगायतका तरकारीले सहज बजार पाएनन् । यो सिजनमा यस क्षेत्रका किसानले तयार पारेका एक चौथाइ तरकारीले मात्र बजार पाएको सिधुवा कृषि भण्डारका प्रबन्धक मेघेन्द्र गुरुङले बताए ।
छथरजोरपाटी गाउँपालिकाको सिधुँवा बजारमा, छिमेकी पालिका र तेह्रथुम जिल्ला देखिका तरकारी सङ्कलन हुन्छ । कृषि सङ्कलन केन्द्रको रूपमा विकास भएको यस ठाउँको मुख्य विदेश बजार भारत हो भने भुटान र बंगलादेशसमा समेत तरकारी जाने गरेको छ ।