धरान : ललित अम्बर डिपो कपको उद्घाटन खेलमा आयोजक डिपो स्कुल रेड टिम देउराली चिल्ड्रेन स्कुललाई ५-० गोलको  फराकिलो अन्तरमा हराउँदै सहज रूपमा विजयी भएको छ ।

डिपो स्कुलद्वारा आयोजित १९औँ अम्बर ललित डिपो कप आज शुक्रवार देखी डिपो फुटबल मैदानमा सुरु भएको हो । खेलमा डिपोका सुरज राणा मगरले ह्याट्रिक गरे ।

उनले पहिलो हाफको ३ मिनेट, दोस्रो हाफमा ३ र २३ मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका थिए । डिपोका कुशल राईले दोस्रो हाफको १२ मिनेटमा गोल गरे ।

देउराली चिल्ड्रेनका सक्षम राईले पहिलो हाफको ११ औँ मिनेटमा आफ्नै गोल पोस्टमा आत्माघाति गोल गरेका थिए ।

खेलको म्यान अफ द म्याच देउराली चिल्ड्रेनका उज्ज्वल घतानि घोषित भए । उनलाई प्रमुख अतिथि सुनसरी फुटबल सङ्घका अध्यक्ष नवीन राईले ट्रफि प्रदान गरे ।

कक्षा ५ सम्मका विद्यार्थीहरूले मात्र सहभागी हुने अन्तर विद्यालय अम्बर ललित डिपो कपको १९ औँ संस्करणमा १६ टिम सहभागी छन् ।

सहभागी विद्यालयहरूमा आयोजक डिपो स्कुल रेड र ब्लु, देउराली चिल्ड्रेन, धरान लिगामेन्ट, प्रभात बोर्डिङ स्कुल, समिट स्कुल, इम्मानुएल स्कुल, सुनाखरी स्कुल, हिविस्कस स्कुल, कार्मेल हाइ स्कुल, जोलसाय स्कुल, यस्तै नेपाल पुलिस स्कुल, आइडियल स्कुल, दिल्ली पब्लिक स्कुल, नोबेल एकेडेमी र माउण्ट हर्मन स्कुल छन् ।

पुस १९ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ११ हजार १ सय ११ रुपैयाँ, दोस्रोले नगद ७ हजार १ सय ११ र तेस्रो हुनेले नगद ५ हजार १ सय ११ रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

शिक्षा सँगै विद्यार्थीहरूमा भएको प्रतिभालाई प्रोत्साहन गर्नलाई प्रतियोगिताको आयोजना गरिएको विद्यालयका प्राचार्य राजकुमार राईले बताए ।

अम्बर ललित डिपो कप २०६१ साल देखि सुरु भएको हो । लकडाउनको वेला दुई संस्करण प्रतियोगिता रोकिए बाहेक प्रतियोगिता निरन्तर सम्पन्न भइरहेको उनले बताए ।

पहिलो खेल पराजित भएका देउराली चिल्ड्रेन स्कुलले दिलबहादुर प्लेट च्याम्पियन खेल्नेछ । पहिलो चरणमा पराजित ८ टिमले प्लेट च्याम्पियनका लागि प्रतिस्पर्धा गर्नेछ ।

प्लेट च्याम्पियनका विजेताले नगद ३ हजार १ सय ११ रुपैयाँ र उपविजेताले २ हजार १ सय ११ रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । डिपो कपको पहिलो चरणका खेलहरू सकिएपछि प्लेट च्याम्पियनका खेलहरू सुरु हुनेछ ।