विराटनगर : नेपाली कांग्रेसका प्रभावशाली नेता सांसद डा.शेखर कोइराला उनको निर्वाचन क्षेत्रका जनताको समस्याको सुनवाइ गर्न केन्द्रित भएका छन् ।
विराटनगरका जनताका विकास, निर्माण सम्बन्धी माग उनीहरूको घरदैलो पुगेर सुन्न र सुनवाइ गर्न मेयर नागेश कोइरालालाई साथै लिएर प्रत्यक्ष भेटघाट बढाएका हुन ।
सांसद कोइरालाले बिहीबार विराटनगर–१२ बखरीमा स्थानीयबासिसँग भेटघाट गरे । स्थानीयले सडक र नाला निर्माणसँगै डुबान समस्या समाधान गर्न माग गरेका थिए । उनीहरूले फोहोर व्यवस्थापन, रोजगारी सिर्जना, लागूऔषध नियन्त्रणका कुरा राखे ।
सांसद र मेयर घरदैलोमा पुग्दा माग तत्कालै पूरा नभए पनि ढिलोचाँडो समस्याको सुनवाइ हुने आशा गर्ने आधार बनेको स्थानीय सहदेव चौधरीले बताए । उनले भने ‘समस्या समाधान होस् नहोस् तर राख्न त पाइयो नि ।’ उनले घर अगाडिको सडक र नालाको अवस्थामा ध्यानाकर्षण गराए ।
शिक्षक ओम आचार्यले चुनाव जितेपछि नाकमुख नदेखाउने प्रवृत्तिले नेताप्रति जनताको वितृष्णा बढेको बेला जनताका बिचमा गएर कुरा सुनिदिँदा राम्रो सन्देश गएको बताए । देशका नेता डा. कोइराला जनताको घरदैलोमा पुग्दा सकारात्मक सन्देश गएको उनको भनाइ छ ।
जनताको गुनासो सुनेपछि सांसद कोइरालाले धेरै निराश नहुन आग्रह गरे । उनले महानगरपालिकाबाट हुने काम गर्नकै लागि पनि मेयरलाई साथैमा लिएर आएको स्पष्ट गर्दै तत्कालै नभए पनि योजनामा सूचिबद्ध भए ढिलै भए पनि जनताको माग पुरा हुने बताए ।
मेयर कोइरालाले महानगरमा धेरै काम भइरहेको दाबी गर्दै राजवंशीचोक–पुलचोकदेखि सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा कालोपत्रे गर्ने काम सुरु भइसकेको उदाहरण दिए । यसै वर्ष नहरको साढे ५ किलोमिटर सडक कालोपत्रे भइसक्ने बताए ।
नेता कोइरालाको घरदैलो अभियान जनतामा चुनाव जितेपछि बेवास्ता गर्ने गुनासो न्यूनीकरण गर्न सुरु भएको हो । कांग्रेसका प्रभावशाली नेता कोइरालाले यसअघि पनि निर्वाचन क्षेत्रका जनताको घरदैलोमा पुगेर उनीहरूका समस्या सुन्दै आएका थिए ।
नेता कोइराला पार्टी राजनीतिका कारण देश दौडाहामा व्यस्त रहने हुँदा निर्वाचन क्षेत्रमा कम आउने गरेको गुनासो थियो । दसैँ–तिहार यता सांसद कोइराला काठमाण्डौंमा भन्दा विराटनगरमै बढी बस्न थालेका छन् ।
केही दिनअघि सुदूरपश्चिम प्रदेशका जिल्लाहरूका कार्यक्रममा सहभागी भएर नेता कोइराला विराटनगर फर्किए लगत्तै चुनाव क्षेत्रमा जनताको घरदैलो दौडाहामा निस्किएका हुन ।