राजनीतिको इतिहासमा धेरै नायक बनेर शासन सत्तामा उदाए । त्यसमध्ये कोही खलनायक बनेर सकिए । कोही अधिनायक बनेर जनताबाट तिरस्कृत भए । अपवाद स्वरूप कसैलाई सत्ताबाट बाहिरिए पनि जनताले नायकका रूपमा मान्दै आएकाहरू पनि छन् ।लोकतान्त्रिक पद्धतिमा जनताद्वारा, जनताको लागि शासन गर्ने जनप्रतिनिधि निर्वाचित हुन्छ । चुनावमा जनताद्वारा निर्वाचित हुनु भनेको नायकत्व हासिल गर्नु हो । जनमतको आधारमा सत्ताको कुर्सीमा पुगेका नायक कहिले सम्म नायक बनेर रहन्छ भन्ने कुरा उसको शासन शैलीमा निर्भर रहन्छ ।
नेपालमा सङ्घीय संविधान लागु भएपछि तिन तहको सरकार छ । संविधानले दिएको क्षेत्राधिकारमा रहेर प्रदेश र स्थानीय सरकारले कानुनहरू आफै बनाउन सक्छ । दलीय व्यवस्था भए पनि सरकारमा स्वतन्त्र जनप्रतिनिधिहरू पनि पुग्न सक्छन् । स्थानीय सरकारमा त प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था छ ।
यसै आधारमा पछिल्लो निर्वाचनमा धरान उपमहानगरपालिका तथा स्थानीय सरकार प्रमुखमा निर्दलीय हर्क साम्पाङ निर्वाचित भए । उनी निर्वाचित हुँदा जति चर्चामा आए उत्तिकै उनले धरानमा उठाएको खानेपानीको एजेण्डा चर्चामा रहे ।
पछिल्लो समय पनि उनको चर्चा सेलाएको छैन । तर सन्दर्भ र प्रसङ्ग बदलिएको छ । उनको बोली व्यवहार, कार्यशैली र सबै भन्दा बढी पत्रकारलाई दिइने चेतावनीका अभद्र भाषा मूलधारका मिडियामा समेत आलोचनाका विषय बनेका छन् ।
उनले चुनावमा विजय प्राप्त गर्नुमा सबै भन्दा बढी राजनीतिक दलहरूप्रति जनताको असन्तुष्टिले मुख्य भूमिका खेलेको कुरा जगजाहेर छ । दलका प्रतिबद्ध कार्यकर्ताले पनि त्यस बेला असन्तोष प्रकट गर्न उनलाई भोट दिए । यस अर्थमा उनी प्रमुखको कुर्सीमा पुग्नुमा राजनीतिक दलका मतदाताहरूको उत्तिकै योगदान छ ।
उनी नगर प्रमुख बनेपछि दलका निकट धरानका अगुवाहरू पनि दलहरू देखी बाहिरका नेतृत्वको कार्यशैली हेर्ने र अवसर दिने मनस्थितिमा पुगेका थिए । सबैमा एउटा नयाँ आशा थियो । धरानको विशिष्ट सामाजिक, सांस्कृतिक अवस्थालाई सन्तुलित ढङ्गमा समेटेर अघि बढाउने आशा सबैले राखेका थिए ।
चुनाव परिणामको घोषणाको क्रममा सबै भन्दा बढी सञ्चारकर्मी/पत्रकारहरू हर्क साम्पाङको विजयोन्मुख नतिजाप्रति उत्साहित थिए । त्यस बेलाको सामाजिक सञ्जालमा नतिजा अपडेट गर्ने होडले त्यसलाई पुष्टि गर्थ्यो । उनीहरू पनि धरानमा नयाँ स्वतन्त्र व्यक्तिको नेतृत्वले नयाँ ढङ्गले काम गर्छन् भन्ने पक्षमा थिए ।
स्थानीय सरकारको प्रमुखमा पुगेपछि अहिले उनको १ नम्बरको शत्रु पत्रकार भएको छ । पत्रकारिता तथा प्रेस सत्ताको स्थायी विपक्ष हुने विश्वव्यापी मान्यता छ । त्यस अर्थमा स्थानीय सरकार राज्य शक्ति हो । त्यसको निगरानी गर्ने र असल कामको प्रशंसा खराब कुराको आलोचना प्रेस तथा पत्रकारको कर्तव्य हो ।
प्रेस स्वतन्त्रता नभए शासक अधिनायक बन्छ । स्वतन्त्र प्रेस नभएको मुलुकै लोकतान्त्रिक मानिँदैन । प्रेस स्वतन्त्रताको रक्षा गर्ने दायित्व सरकारको हो । तर धरानको स्थानीय सरकारबाट प्रेस स्वतन्त्रताको रक्षा टाढाको कुरो भो । स्थानीय सरकार प्रमुखको रवैयाले पत्रकारहरू आफू असुरक्षित भएको भनी प्रहरीमा उजुरी समेत गर्न पुगेको अवस्था छ ।
स्थानीय सरकारको नेतृत्वमा बसेको दुई वर्ष नाघ्दा सम्ममा नगर प्रमुख हर्क सम्पाङको कार्यशैलीको मूल्याङ्कन धरान नगरवासीले गर्न थालेका छन् । उनी राजनीतिक/कूटनीतिक छैनन् आक्रामक छन् । त्यसको प्रभाव उनको बोली, वचन र व्यवहारमा समेत प्रत्यक्ष रूपमा देखिन्छ ।
लोकतन्त्रमा शासक जनताको सेवक हुने मान्यता छ । उनको व्यवहारमा सेवकको लक्षण कम प्रशासकको बढी पाइन्छ । यो अनुभव उनका प्रशंसक, समर्थकहरूले पनि गर्न थालेका छन् । उनको अघि आफूलाई लागेको कुरा प्रकट गर्न जो केहीलाई आँट आउँदैन । यो जनताको अघि नायक बन्ने सङ्केत होइन । अधिनायक बनेका क्रूर शासकहरूका शासनको इतिहासमा यस्तो कुरा पढ्न पाइन्छ ।
उनको आक्रामक स्वभावले कहिले काहीँ संविधान अन्तर्गत बनेका ऐन, कानुन, निकाय नमान्ने अभिव्यक्ति पनि प्रकट भएको पाइन्छ । नगर प्रमुख स्वतन्त्र व्यक्ति हुनसक्छ तर उपमहानगरपालिका स्थानीय सरकार संविधान ऐन कानुन अनुसार चल्नु पर्ने राज्यको अङ्ग हो भन्ने कुरालाई बेवास्ता गरेको देखिन्छ ।
जनताले स्थानीय सरकारको प्रमुखमा हर्क साम्पाङलाई जिताए पनि राजनीतिक दलहरूलाई सन्तुलनमा राखेर काम गर्न कार्यपालिकामा वडाध्यक्षहरू दलहरूबाटै पठाए । जनादेश अनुसार कार्यपालिकामा उनले दलहरूलाई सन्तुलनमा राखेर काम गरेको बुझिन्न । बोर्ड बैठक, नगर सभा र बजेटका कुरामा भएका पटक पटकको विवादले यसलाई पुष्टि गरेको छ ।
जनताले स्वतन्त्र रूपमा कुर्सीमा पुर्याएकाले राजनीतिक दलहरूलाई आलोचना गर्न स्थानीय सरकार प्रमुखलाई छुट छ । राजनीतिमा विचार, सिद्धान्त र कार्यनीति फरक हुन्छ, आलोचना त्यही भिन्नताको मतान्तर हो । तर धरानको वृहत् हितका लागि राजनीतिक दलहरूको पनि आम सहमति चाहिने सवालहरूमा कूटनीतिक पहल गर्ने दायित्व नगर प्रमुखकै हो ।
प्रमुखको स्थानीय शासन सत्ता सम्हाले देखी नै प्रमुख साम्पाङ लोकतान्त्रिक पद्धति, प्रक्रियालाई बलियो बनाउने भन्दा एकल शैलीमा अघि बढे । उनको सबै कार्यलाई गलत छ भन्न सकिन्न । उनले जुन मुद्दा उठाएका थिए त्यसको कार्यान्वयनका लागि उनी एक्लै लाग्नु पर्ने अवस्था पनि थियो । तर प्रमुख साम्पाङको ऊनीसँग फरक मत राख्नेहरू सबै खलनायक हुन भन्ने धारणा गलत छ ।
यस्तो धारणाले निर्णायक अधिकार भएका शासकलाई नायक होइन अधिनायक बनाउन सक्छ । मिसन २०८४ आउँदै छ, नगर प्रमुख साम्पाङले आफूलाई नायक बनाउने दिशामा अघि बढाउने हुन कि अधिनायकको पहिचान बनाउने हुन हेर्न समय बाँकी छ ।