इटहरी प्रदेश १ सरकारले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधवार प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभामा प्रस्तुत गरेका हुन् ।
कृषि कला र संस्कृतिलाई मुख्य प्राथमिकता दिइएको नीति तथा कार्यक्रममा किरात सभ्यता सँग जोडिएको खुवालुङ संरक्षणमा जोड दिइएको छ । कोसी नदीको बिचमा रहेको खुवालुङ (ढुङ्गो) को संरक्षणमा प्रदेश सरकार लाग्ने भएको छ । त्यससँगै मुन्धुम पर्यटन पदमार्ग निर्माणलाई पूर्णता दिइने भएको छ ।
प्रदेश भित्रका घरेलु उद्योगलाई प्रोत्साहन गरी रोजगारी सृजना गर्ने सरकारको लक्ष्य छ । घरैमा उत्पादन हुने मदिरालाई ब्राण्डीङ गरेर बजार विस्तार गरिने भएको छ । त्यसका साथै घरेलु उद्योगको संरक्षण र विकासका लागि 'एक गाउँ एक उद्योग, एक घर एक उद्यमी' कार्यक्रम थालनी गरिने भएको छ ।
एक पालिका एक उत्पादनलाई अगाडी बढाएको सरकारले कृषि क्षेत्रको विकासको लागि प्रादेशिक कृषि विकास रणनीति तय गर्ने उल्लेख गरेको छ । माटो सुधार र परीक्षण कार्यक्रम ल्याउने, उत्पादनको आधारमा किसानलाई सोझै अनुदान दिने, किसानलाई मौसमसम्बन्धी नियमित सूचना दिने व्यवस्था गर्ने नीति तथा कार्यक्रममा समेटिएका छन् ।
खाद्य सुरक्षाका लागि उन्नत गुणस्तरीय बीउ विजनमा कृषकको पहुँच विस्तार, प्राङ्गारिक मल र जैविक विषादी उत्पादन, प्रवर्द्धन र उपयोगलाई प्रोत्साहन गरिने भएको छ । भू-उपयोग नीति ल्याएर कार्यान्वयन गर्ने देखी व्यवसायीक योजना र उद्यमशीलता विकासका तालिम सञ्चालन गर्न टोल टोलमा सहकारी घरघरमा रोजगारी अभियान चलाइने भएको छ ।
पर्यटन प्रवर्द्धन गर्न भ्रमण प्याकेज योजना कार्यान्वयनमा ल्याउने र पर्यापर्यटनमा आधारित पर्यटन क्षेत्रको विकास गर्न पदमार्ग केन्द्रित पर्यटन विकास आयोजनालाई प्राथमिकता दिइने भएको हो । विराटनगर विमानस्थलको विकास र स्तरोन्नति गरी विराटनगरबाट माउन्टेन फ्लाइट र अन्तर प्रदेश उडान गर्न प्रोत्साहित गरिने सरकारको कार्यक्रममा उल्लेख छ ।
विदेशी लगानी आकर्षित गर्न वृहत् लगानी सम्मेलनको आयोजना गर्ने र अन्तराष्ट्रिस्तरका सभा सम्मेलन आयोजना गर्नका लागि औद्योगिक प्रदर्शनी स्थल निर्माण गर्ने प्रदेश १ सरकारले कार्यक्रम ल्याएको छ । उदयपुर सिमेन्ट कारखानाको क्षमता विस्तार गरी सिमेन्ट निर्यातका लागि सम्भाव्यता अध्ययन गर्ने र ठुला नदीमा जल यातायात सञ्चालनको सम्भाव्यता अध्ययन गरिने भएको छ ।
पर्यटकीय क्षेत्रमा केबुलकारका सम्भाव्यता अध्ययन गर्ने देखी चतरा-घुर्मि सडक निर्माणका लागि सङ्घीय सरकारसँगको सहयोगमा अगाडि बढाउने प्रदेश सरकारको योजना छ । स्मार्ट सिटी तथा नमुना गाउँको पूर्वाधार निर्माणको लागि अगाडि बढाइने भएको छ।