धरान :  धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ विरुद्ध नेपाल पत्रकार महासङ्घ सुनसरी जिल्ला अध्यक्ष जनक ऋषि राई र केन्द्रीय पार्षद् गोपाल दाहालले शान्ति सुरक्षा सहित आवश्यक कारबाहीको माग गर्दै आज बिहीबार साँझ इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

नगर प्रमुख साम्पाङले सामाजिक सञ्जाल मार्फत पत्रकारद्धयलाई दिएको धम्कीको बारेमा पत्रकार महासङ्घ सुनसरीको भेलाले निर्णय गरे अनुसार प्रहरीमा उजुरी दिइएको हो ।

उजुरीमा सामाजिक सञ्जालमा धम्कीपूर्ण ‘कमेन्ट’ गर्नेहरु लेखक राई सहित दर्जन व्यक्तिलाई तत्काल कारबाही गर्न पनि माग गरिएको छ ।

दाहाल खोज पत्रकार र हिमाल मिडियामा कार्यरत पत्रकार हुन । उनले लेखेको ‘हर्क साम्पाङको मौन मोजी शासन बेथितिको दलदलमा धरान’ शीर्षकको समाचार मङ्सिर १४ गते हिमाल खबर डटकममा प्रकाशित भएको थियो ।

सोही समाचार प्रति लक्षित गर्दै प्रमुख साम्पाङले तथानाम गाली गलौज र अपशब्द प्रयोग गरी चोर फटाहा, तेरो पत्रकारिताको अन्त्य गर्छु तँ मुलाको यसरी बेईज्जेत गर्छु की शिर ठाडो पारेर नेपालमा हिँड्न नसक्ने पारिदिन्छु भनी सामाजिक सञ्जाल मार्फत धम्की दिएका थिए ।

साथै महासङ्घका सुनसरी सभापति जनक ऋषि राईलाई धेर फुरफुर नगर तिमिहरूलाई ऐना हेर्दै थुक्ने बनाइदिनेछु भन्ने जस्ता अत्यन्तै अमानवीय दुव्र्यव्यवहारपुर्ण तथा अपाच्य शब्दहरू सामाजिक सञ्जालमा राखी जिउ ज्यान माथि नै धावा बोल्ने धम्की दिएका थिए ।

नगर प्रमुख जस्तो जिम्मेवार व्यक्तिले आफ्नो पदीय मर्यादा र कर्तव्यत्वलाई नै भुल्दै दिएको धम्कीले उनी र उनका निकटहरूबाट आफूहरूको जिउ ज्यान असुरक्षित भएकोले शान्ति सुरक्षा गरी आवश्यक कारबाही गर्न उजुरीमा उल्लेख छ ।

स्थानीय सरकार प्रमुख साम्पाङ स्वयं आम नगरवासीका अभिभावक भएर पनि गैर जिम्मेवार अभिव्यक्ति र सामाजिक सञ्जालबाट पत्रकारिता गर्न नदिने र मार्ने धम्की समेत दिएकाले धरानमा संविधान र कानुनले दिएको प्रेस स्वतन्त्रता, पत्रकार र पत्रकारिता असुरक्षित भएको उजुरीमा उल्लेख छ ।