बराहक्षेत्र : बराहक्षेत्र-१ स्थित चतरा तीर्थनगरी बचत तथा सहकारी संस्थाले आफ्नो आठौँ साधारण सभा तथा स्थापना दिवस मनाएको छ । आइतबार संस्थाले आठौँ साधारण सभा तथा स्थापना दिवस मनाएको हो ।

आठौँ साधारण सभा तथा स्थापना दिवसको अवसरमा संस्थामा रिक्त रहेको सञ्चालक समिति अध्यक्ष र एक जना सदस्य सर्व सम्मत् रूपमा निर्वाचित समेत गरेको छ ।

संस्थाको नयाँ नेतृत्वका रूपमा अध्यक्ष महेश बज्राचार्य र यस्तै रिक्त रहेको सदस्य पदमा शान्ता पोख्रेल लिम्बूलाई सर्व सम्मत् रूपमा निर्वाचित समेत गरेको   निर्वाचन समिति संयोजक कमल भण्डारीले जानकारी दिए । साधारण सभाकै अवसरमा अध्यक्ष र सदस्यमा निर्वाचितलाई सपथ गराइएको थियो ।

सभामा संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत कार्यवाहक अध्यक्ष सुशीला शेर्पाले गरेकी थिइन् ।

सहकारी संस्थाले ८१ लाख २० हजार ९ सय रुपैयाँ सेयर पुँजी बनाउन सफल भएको, आर्थिक वर्ष २०८०/८१ सालको प्रगति विवरण प्रस्तुत गर्दै सहकारी संस्थाले कुल ६ करोड ५९ लाख ३६ हजार ८ सय ८९ रुपैयाँ ८५ पैसा निक्षेप सङ्कलन गरेको उल्लेख गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ सालको प्रगति विवरण गर्दै व्यवस्थापक दिपक कार्कीले भावी नीति तथा कार्यक्रम र बजेट प्रस्तुतसँगै संस्थाले २ करोड ८५ लाख २३ हजार २ सय २७ रुपैयाँ कर्जा प्रवाह गरेको जानकारी दिएका थिए ।

संस्थाले सेयर पुँजी, निक्षेप र कर्जा प्रवाहमा उल्लेखीय अङ्क वृद्धि गर्दै ३ करोड ३५ लाख ३० हजार ३ सय ६४ रुपैयाँ लगानी गरेको जनाएको छ । उनले आव २०८०/८१ को मसान्तसम्मको आर्थिक कारोबार र भावी नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरे । उनले सदस्यहरूलाई धितोमा १० लाखसम्म कर्जा प्रवाह गरिरहेको बताए ।

यस्तै लेखा सुपरिवेक्षण समितिका तर्फबाट संयोजक मुनु थापाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले आन्तरिक लेखा परीक्षण गर्ने क्रममा आव २०८०/८१ सालको संस्थाका वित्तीय गतिविधि तथा कारोबार प्रस्तुत गरे ।

कार्यक्रममा सामाजिक व्यक्तित्व सम्मानतर्फ औलिया माविका पूर्व प्रधानाध्यापक  कृष्णप्रसाद कट्टेल, ज्येष्ठ सेयर सदस्य सम्मान (पुरुष) तर्फ प्रेमबहादुर राउत, ज्येष्ठ सेयर सदस्य सम्मान (महिला) तर्फ भक्तिदेवी शाही, उत्कृष्ट निक्षेपकर्ता (पुरुष) तर्फ सूर्यबहादुर मगर,  उत्कृष्ट निक्षेप कर्ता (महिला) तर्फ दीपा मगर, उत्कृष्ट कर्जा कारोबार गर्ने शेयर सदस्य (पुरुष) तर्फ  गोपाल विश्वकर्मा,  उत्कृष्ट कर्जा कारोबार गर्ने सेयर सदस्य (महिला) तर्फ रामसरा राई रहेका छन् । बचत समूहतर्फ उत्कृष्ट समूह बागेश्वरी महिला बचत समूहलाई सम्मान गरिएको थियो ।

कार्यवाहक अध्यक्ष सुशील शेर्पाको सभाध्यक्षतामा भएको  कार्यक्रममा नगर उपप्रमुख नन्दकुमारी सुनुवारको प्रमुख आतिथ्यता रहेको थियो । विशिष्ट अध्यक्ष बराहक्षेत्र- १ का वडाध्यक्ष किसन थापा, बराहक्षेत्र-२ का वडाध्यक्ष होमप्रसाद गौतम, चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक बाबुराम खत्री रहेका थिए ।