धरान : हिबिस्कस क्विज मेनिया सिजन-३ को उपाधि आयोजक हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले जितेको छ ।
प्रतियोगिताको शनिवार भएको फाइनलमा आयोजक हिविस्कस स्कुलले अन्य ६ सहभागी स्कुललाई पछि पार्दै उपाधि हात पारेको हो । उपाधिसँगै स्कुलले नगद १५ हजार, ट्रफि, मेडल र प्रमाण-पत्र आफै राखेको छ ।
प्रतियोगितामा महेन्द्र मावि तित्रिगाछी दोस्रो स्थानमा रह्यो । महेन्द्रले नगद १० हजार सहित मेडल र प्रमाण–पत्र प्राप्त गर्‍यो । तेस्रो स्थानमा रहेको मेघा हिमालयन स्कुलले नगद ८ हजार मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ ।
चौथो स्थानमा रहेको आरम्भ विद्या मन्दिर रामधुनीले नगद ६ हजार, पाँचौँ स्थानमा रहको विष्णु मेमोरीयलले नगद ४ हजार सहित प्रमाण-पत्र हात पारेको छ । देउराली चिल्ड्रेन एकेडेमीले छैटौँ पुरस्कार नगद २ हजार प्राप्त गर्‍यो ।
विजेता स्कुलहरूलाई प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य यशोदा कायस्थले नगद पुरस्कार ट्रफि मेडल प्रदान गरिन् । सांसद कायस्थले यस्ता कार्यक्रमले बिद्यार्थीहरुको बौद्धिक क्षमताको विकास हुनुका साथै पढाइलाई समेत प्रोत्साहन मिल्ने बताइन् ।
उनले भनिन् ‘धरानलाई शिक्षाको हबको रूपमा विकास गर्न यस्ता खाले प्रतियोगिताले सहयोग पुर्‍याउँछ ।’ पत्रकार महासङ्घका निवर्तमान अध्यक्ष जनकऋषि राई, निर्णायक नउदिप साहले मेडल र प्रमाण-पत्र वितरण गरे । प्रतियोगितामा ४२ स्कुल सहभागी थिए ।